चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनाकालका संघर्षपूर्ण दिनहरू सम्झिँदै भावुक बनेका छन्।
चितवनमा सम्पन्न केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना गर्दा भोग्नुपरेका चुनौतीहरू स्मरण गरे। निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक कागजात जुटाउने क्रममा २१–२२ वटा नागरिकता संकलन गर्नुपरेको सकस र समावेशितासम्बन्धी मापदण्ड पूरा गर्न भोग्नुपरेको दबाब अहिले पनि सम्झिरहेको उनले बताए।
“अहिले महामन्त्रीज्यूले भनिरहँदा एकदम भावुक हुने खालको परिस्थिति सिर्जना भयो। मलाई पनि अलिकति भावुक बनायो,” उनले भने, “पार्टी स्थापना गर्दा निर्वाचन आयोगमा बुझाउन जाँदा २१–२२ वटा नागरिकता जुटाउनुपरेको सकस सम्झिरहेको छु। त्यसमाथि समावेशिताको विषयले थप चुनौती थपेको थियो।”
लामिछानेले पार्टी आजको अवस्थामा आइपुग्नुमा नेता–कार्यकर्ताको निरन्तर साथ, विश्वास र मेहनतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन आग्रह पनि गरे।
“पार्टी आज जहाँ आइपुगेको छ, त्यो यहाँहरूको अनवरत साथ, विश्वास र मेहनतकै परिणाम हो,” उनले भने, “त्यसकारण म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह गर्न चाहन्छु। स्वस्थ प्रतिस्पर्धाबाट हामी नयाँ उचाइमा पुग्नेछौँ।”
उनले पार्टीका नेता तथा कार्यकर्ताको अनुभवलाई समाजले सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास व्यक्त गर्दै संगठनलाई अझ सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने बताए।
सम्बोधनका क्रममा लामिछानेले आफू र आफ्नो नेतृत्वमाथि विश्वास राखेर अप्ठ्यारो परिस्थितिमा समेत साथ दिएका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे। “अप्ठ्यारो पर्दा र चोट लाग्दा ‘हामी छौँ’ भनेर साथमा उभिनुभएकोमा सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।
