काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपाललाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत नेपालमाथि निलम्बनको निर्णय गरेको जनाएको छ। फिफाका अनुसार नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप देखिएकाले उक्त कदम चालिएको हो।

योसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त आफ्ना सबै सदस्यता अधिकार गुमाएको छ। नेपाली फुटबल इतिहासमा फिफाले नेपालमाथि प्रतिबन्ध लगाएको यो पहिलो घटना हो।

निलम्बन अवधिभर एन्फाअन्तर्गतका राष्ट्रिय टोली तथा क्लब टोलीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। साथै, एन्फाका पदाधिकारी तथा प्रतिनिधिहरूले पनि फिफा र एएफसीका आधिकारिक गतिविधिमा सहभागी हुन नपाउने भएका छन्।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। यद्यपि, उक्त निर्णय पछि फुकुवा भइसकेको थियो।