काठमाडौँ । सरकारले अहिले ८ वटा हरियो रंगका साझा बसलाई निलो रंग लगाएर तिनलाई ब्लु बस नाम दिएर चलाउने तयारी गरिरहेको छ ।

तर के तपाईँलाई थाहा छ, अहिले काठमाडौँ उपत्यकाका विभिन्न रुटमा चल्ने हरियो रंगका साझा बस कुनै समयमा निलो रंगका थिए नि पत्यार लागेन ?, यो तस्विर हेर्नुहोस् त ।


यो तस्विर त्यहि साझा बसको हो, । जुन अहिले काठमाडौँमा हरियो रंगमा देखिन्छन् ।

अब साझा यातायात कहिले निलो थियो, कहिले हरियो बन्यो त ? यो विषय जान्नलाई साझा बसको इतिहास जान्नपर्ने हुन्छ । आउनुहोस्, पहिला साझा यातायातको विगत जानौँ ।
०००
अहिले काठमाडौं उपत्यकामा देखिने हरिया साझा बसको इतिहास धेरैले २०७० सालबाट सुरु भएको ठान्छन्। तर साझा यातायातको यात्रा त्यसभन्दा धेरै पुरानो हो। यो नेपालको सार्वजनिक यातायातको इतिहास, सहकारी आन्दोलन, सरकारी हस्तक्षेप, राजनीतिक प्रभाव र पुनर्जागरणको कथा पनि हो।

ब्रह्मलाल उपाध्यायद्वारा लिखित ‘साझा यातायातको संक्षिप्त गतिविधि’ अनुसार साझा यातायातको स्थापना २०१६ साल मा भएको हो। त्यसबेला रानी जगदम्बाको परिवारले ललितपुरको पुल्चोकमा साझा यातायातका लागि २२ रोपनी जग्गा उपलब्ध गराएको थियो। संस्थाका संस्थापकहरूमध्ये तत्कालीन विकास तथा शिक्षा मन्त्री विश्वबन्धु थापा पनि थिए।

साझा यातायात स्थापना गर्नुको मुख्य उद्देश्य सर्वसाधारणलाई उचित र सुपथ मूल्यमा भरपर्दो बस सेवा उपलब्ध गराउनु थियो। त्यसैले यसलाई सहकारी मोडलमा सञ्चालन गरियो। सर्वसाधारणले पनि शेयर खरिद गर्न सक्ने व्यवस्था मिलाइयो भने राजपरिवारका सदस्यहरू समेत यसका शेयरधनी थिए।

२०१६ साल साउन महिनामा काठमाडौं उपत्यकाभित्र पाँचवटा ्हरियो रंगका बस सञ्चालन गर्दै साझा यातायातको औपचारिक सुरुवात भयो। त्यसबेला यसको रुट ललितपुर हुँदै काठमाडौं र भक्तपुरसम्म फैलिएको थियो। प्रारम्भिक चरणमा सञ्चालनमा आएका बसहरू हरियो रङका थिए। विदेशी निर्माणका ती बसहरू सफा, व्यवस्थित र त्यतिबेलाका अन्य सार्वजनिक सवारीभन्दा गुणस्तरीय मानिन्थे।

पछि तीनै साझा यातायातका बसको रङ हरियोबाट निलो बनाइयो। आधिकारिक रूपमा रङ परिवर्तनको कारण उल्लेख गरिएको पाइँदैन। तर यही निलो बस नै पछि काठमाडौंको सार्वजनिक यातायात अझ भनौँ साझा यातायातको पहिचान बन्यो।

२०२४ साल सम्म आइपुग्दा साझा यातायातसँग २३ वटा बस पुगेका थिए। संस्था नाफामा सञ्चालन भइरहेको थियो। २०२१÷२२ साल मा त शेयर सदस्यलाई लाभांशसमेत वितरण गरिएको थियो।

त्यस समय साझा यातायात केवल बस सेवा मात्र थिएन, सार्वजनिक सेवाको एउटा नमुना थियो। सबै वर्गका नागरिक एउटै बसमा यात्रा गर्ने संस्कृतिले यसलाई विशेष बनाएको थियो। यही भावनालाई प्रख्यात कलाकार हरिवंश आचार्यले गाएको लोकप्रिय गीत ूसाझा बसमा जो पनि चढ्दछू ले अझ लोकप्रिय बनाएको थियो।

तर २०२४ सालपछि साझा यातायातको अवस्था क्रमशः बिग्रिन थाल्यो। सञ्चालन खर्च बढ्दै गयो, व्यवस्थापन कमजोर बन्दै गयो र दैनिक सेवा सञ्चालनमै कठिनाइ हुन थाल्यो।

घाटा बढेपछि संस्थाले ऋण लिन सुरु गर्‍यो। अवस्था यति कमजोर बन्यो कि २०२६ साल सम्म आइपुग्दा साझा यातायात बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो। त्यसपछि संस्थाले सरकारको सहयोग माग्यो।

सरकारले जिम्मा लिँदा साझा यातायातसँग सञ्चालनयोग्य चारवटा पुराना बस मात्र बाँकी थिए। संस्थासँग करिब २२ लाख रुपैयाँ बराबरका साधन र स्रोत मात्र थिए।

केही समय सेवा बन्द भएपछि सरकारले पुनः सञ्चालनको जिम्मा लिएर साझा यातायातलाई अघि बढायो।

२०२८ देखि २०३७ साल सम्मको अवधि साझा यातायातका लागि पुनः सफल समय मानिन्छ। यस अवधिमा संस्थाले पुराना ऋण तिर्दै गयो र काठमाडौं उपत्यकाबाहिर पनि सेवा विस्तार गर्‍यो।

२०३७ साल मा जापान सरकारले ३५ वटा बस सहयोगस्वरूप उपलब्ध गरायो। तीमध्ये अधिकांश बस काठमाडौं उपत्यकामै सञ्चालन भए।

त्यसपछि २०४३ साल मा जापान सरकारले फेरि ४७ वटा बस उपलब्ध गरायो।

२०४४ साल सम्म आइपुग्दा साझा यातायातसँग १८३ वटा बस पुगेका थिए। तीमध्ये १४७ वटा बस जापान सरकारको सहयोगमा प्राप्त भएका थिए।

बसको सङ्ख्या बढे पनि व्यवस्थापन भने सुधार हुन सकेन। समयसँगै कर्मचारी संख्या बढ्दै गयो, राजनीतिक हस्तक्षेप चुलियो र संस्थागत अनुशासन कमजोर बन्दै गयो।

यसैबीच २०४८ सालपछि नेपालले आर्थिक उदारीकरणको नीति अवलम्बन गर्‍यो। निजी क्षेत्रलाई सार्वजनिक यातायातमा प्रवेश खुला गरियो। माइक्रोबस, मिनिबस र अन्य निजी सार्वजनिक सवारी तीव्र रूपमा विस्तार हुन थाले।

निजी सवारीसाधनको पहुँच बढे पनि सार्वजनिक यातायातको समग्र गुणस्तर भने अपेक्षित रूपमा सुधार हुन सकेन।

लामो समयसम्म आर्थिक संकट, कमजोर व्यवस्थापन र राजनीतिक हस्तक्षेप झेलेपछि अन्ततः २०६४ साल सम्म आइपुग्दा साझा यातायातका सबै सेवा अवरुद्ध भए।

करीब एक दशकको तयारीपछि २०७० साल मा साझा यातायात सहकारी संस्थाको रूपमा पुनः सञ्चालनमा आयो।

पुनः सञ्चालनसँगै बसहरूको रङ फेरि हरियो बनाइयो।

साझा यातायातका तत्कालीन सञ्चालक समिति सदस्य भूषण तुलाधर का अनुसार बसलाई फेरि हरियो बनाइनुको उद्देश्य संस्थाको मौलिक ब्रान्ड र मूल मूल्यमा फर्किनु थियो। साझा यातायातको मौलिक पहिचान र मूल्य पुनःस्थापित गर्न ती बसहरुलाई पुनः हरियो नै बनाइएका थिए ।

त्यस्तै तत्कालीन अध्यक्ष कनकमणि दीक्षित ले हरियो रङले वातावरणमैत्री सार्वजनिक यातायातको सन्देश पनि दिने बताएका थिए।

पुनः सञ्चालनपछि साझा यातायातले सिसिटिभी, छुट्टाछुट्टै प्रवेश गर्ने र ओर्लने ढोका, निश्चित समयतालिका, महिला चालकको सहभागिता र युरो थ्री उत्सर्जन मापदण्डजस्ता आधुनिक अभ्यास लागू गर्‍यो।

हाल साझा यातायातसँग ७१ वटा ठूला बस सञ्चालनमा छन्। तीमध्ये ४ वटा लामो दूरीका रुटमा तथा ६७ वटा काठमाडौं उपत्यकाभित्र सिटी बसका रूपमा सञ्चालन भइरहेका छन्।

यसका अतिरिक्त साझा यातायातले ४० वटा मध्यम आकारका विद्युतीय बस समेत सञ्चालन गरिरहेको छ।

अस्तव्यस्त काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा आज पनि साझा यातायातको ठूलो भुमिका छ । धेरै यात्रु क्षमता भएका ती बसहरु निरन्तर संचालनमा छन् । तीनै बसमध्ये ८ वटा बसलाई नेपाल सरकारले पुनः निलो रंग लगाएर तीनलाई ब्लु बस नाम दिएर संचालनको तयारी गरिरहेको छ । ती ब्लु बसमा महिलाहरुका भाडा नतिरी संचालन गर्न पाउने बताइएको छ । सुरुमा काठमाडौँ उपत्यकामा संचालन गरिने ती बस भविष्यमा देशभर संचालन गर्ने सरकारको तयारी छ ।