काठमाडौँ । तथाकथित जेनजी अभियन्ता अजय सोडारीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न सरकारविरोधी आन्दोलनमा सहभागी जनाउँदै आएका उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि सात दिनदेखि हिरासतमा राखेको छ।

प्रहरीले साउन १३ गते माइतीघर मण्डलबाट अजय सोडारी, प्रकाश बम र सुनिल विकलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पहिलो पटक पाँच दिन र दोस्रो पटक तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरी स्रोतका अनुसार सोडारीसहितको समूहले लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न उक्साउने तथा भीडलाई थप आक्रामक बनाउन भूमिका खेलेको आरोप छ।
प्रहरीको दाबी छ कि – सोडारी पछिल्ला अधिकांश सरकारविरोधी आन्दोलनमा अग्रपंक्तिमा देखिने गरेका छन्। सुकुम्बासी आन्दोलनदेखि सांसदका स्वकीय सचिव नियुक्तिसम्बन्धी विवादसम्मका विभिन्न आन्दोलनमा उनी सक्रिय रूपमा सहभागी हुँदै आएका र आन्दोलनको नेतृत्व तथा समर्थन गर्दै भिड परिचालन गर्ने गरेको प्रहरीको आरोप छ।