काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको छ।
मेहताको निधनपछि उनका परिवार र आफन्तसँग वार्ता गर्न गृहमन्त्री सुदन गुरुङ मंगलबार शिक्षण अस्पताल पुगेका छन्। गृहमन्त्रीको सचिवालयका अनुसार अस्पतालमा केहीबेरअघि परिवारसँग वार्ता सुरु भएको हो।
मेहताका परिवार र आफन्तले यसअघि मृत्यु भएका तीन जनाका परिवारसँग सरकारले गरेको जस्तै सहिद घोषणा, आर्थिक सहायता तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्थालगायतका बुँदामा सम्झौता भएपछि मात्र शव अन्त्येष्टि गर्ने अडान राखेका छन्। यही विषयमा छलफल र सहमति जुटाउने उद्देश्यले गृहमन्त्री अस्पताल पुगेका हुन्।
रवीन्द्रको निधनपछि अस्पताल परिसरमा उनका आफन्तले गृहमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
यसअघि मंगलबार नै गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा घटनासँग सम्बन्धित दुवै समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति–सुरक्षा तथा आपसी सद्भाव कायम गर्ने विषयमा विचारविमर्श भएको गृह मन्त्रालयले जनाएको छ।
साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका मेहता उपचारका लागि काठमाडौँ ल्याइएका थिए। उपचारकै क्रममा मंगलबार बिहान उनको निधन भएको हो।
