काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बुधबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। करिब साढे ३२ वर्षको निजामती सेवा पूरा गरेका गुरागाईँ काठमाडौँ महानगरपालिकाको इतिहासमा प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त हुने पहिलो अधिकारी बनेका छन्।
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार गुरागाईँले २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

महानगरपालिकाले बुधबार आयोजित कार्यक्रममा गुरागाईँलाई विदाइ गरेको थियो। कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखको सहभागिता रहेको थियो।
विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले गुरागाईँको प्रशासनिक नेतृत्वले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायबीच सहकार्य, समन्वय तथा सहअस्तित्वको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनले पद अस्थायी भए पनि सेवाको भावना स्थायी रहने उल्लेख गर्दै सेवा निवृत्तिपछि पनि गुरागाईँको अनुभव समाज र संस्थाले उपयोग गर्न सक्ने विश्वास व्यक्त गरिन्।
सुशासन समितिका संयोजक ख्यामराज तिवारीले महानगरपालिकाको संस्थागत विकासका लागि गुरागाईँको ज्ञान, सीप र अनुभव आगामी दिनमा पनि आवश्यक रहने बताए।

विदाइ कार्यक्रममा गुरागाईँले आफ्नो साढे ३२ वर्षे निजामती सेवामध्ये काठमाडौँ महानगरपालिकामा बिताएको समय सबैभन्दा स्मरणीय रहेको बताए। प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वाभाविक हुने भन्दै उनले ती सबै अवस्थालाई सहज रूपमा स्वीकार गरेको प्रतिक्रिया दिए।
गुरागाईँले २०५१ पुस १९ गते शाखा अधिकृत पदबाट संघीय निजामती सेवामा प्रवेश गरेका थिए। उनले करिब २१ वर्ष स्थानीय तहमा, दुई वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र त्यसअघि करिब सात वर्ष उद्योग मन्त्रालय अन्तर्गत सेवा गरेका थिए। काठमाडौँ महानगर आउनुअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको ‘समृद्धि आयोजना’का प्रमुख थिए। उनले करिब चार महिना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
गुरागाईँ २०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त भएका थिए।


