काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्त्येष्टि बेलायतको लन्डनमा गरिने भएको छ। परिवार लन्डनमा बस्दै आएकाले धार्मिक परम्पराअनुसार उतै अन्तिम संस्कार गर्ने तयारी गरिएको हो।

परिवारका अनुसार अन्त्येष्टिपछि उनको सम्झनामा जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना तथा बाल्यकाल बिताएको चितवनमा छुट्टाछुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ। दाजु कमलबहादुर पुर्जाले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै अन्त्येष्टिको मिति सार्वजनिक गरिने जानकारी दिए।

निर्मल पुर्जाको शव बुधबार मात्रै जोखिमपूर्ण उद्धार अभियानपछि ब्रड पिकको बेसक्याम्पमा ल्याइएको थियो। साउन १४ गते आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा उनीसहित १० सदस्यीय टोली दुर्घटनामा परेको थियो। प्रतिकूल मौसम र कठिन भू–भागका कारण शव उद्धारमा केही दिन ढिलाइ भएको थियो।

पुर्जाले स्थापना गरेको एलिट एक्सपिडिसनका अनुसार निर्मल पुर्जासहित निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइसकिएको छ। आवश्यक कागजी प्रक्रिया पूरा गरी शव शुक्रबार राति वा शनिबारसम्म बेलायत पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, गिल्गिट–बाल्टिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास, बेलायती उच्चायोग र अल्पाइन क्लब अफ पाकिस्तानले समन्वय र सहयोग गरेका थिए।

म्याग्दीमा जन्मिएका पुर्जा सन् २००३ मा पोखरास्थित ब्रिटिस गोर्खा भर्ती केन्द्रबाट बेलायती सेनामा भर्ना भएका थिए। क्विन्स गोर्खा इन्जिनियर्समा सेवा गरेका उनी पछि बेलायतको रक्षा मन्त्रालयमा पर्वतीय विशेषज्ञका रूपमा कार्यरत रहे। सन् २०१७ मा १३ जना ब्रिटिस गोर्खाको सगरमाथा आरोहण अभियानको नेतृत्व गरेका पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा ‘निम्स दाइ’का रूपमा परिचित थिए।