काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

भेटवार्तापछि प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवले नेपालको चुच्चे नक्सा अंकित पृष्ठभूमिअघि तस्बिरसमेत खिचाएका छन् । उक्त तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत यसको चर्चा सुरु भएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ । नेपालले यी भूभागलाई आफ्नो अभिन्न हिस्सा भन्दै २०७७ सालमा अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । भारतले भने उक्त नक्सालाई अस्वीकार गर्दै ती क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ ।

नेपालको संविधानको अनुसूचीमा समेत समेटिएको नेपालको आधिकारिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएपछि ‘चुच्चे नक्सा’ नेपाली राजनीतिक बहसको महत्वपूर्ण विषय बनेको थियो ।

प्रधानमन्त्री शाह भने यसअघि राष्ट्रियता र सीमा प्रश्नमा फरक शैलीका अभिव्यक्ति तथा प्रस्तुति दिँदै आएका छन् । उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा नेपालको वर्तमान भूभागभन्दा बाहिरका नेपाली भूभागसमेत समेटिएको ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए । त्यसबेला उक्त नक्सालाई लिएर समेत उनको चर्चा भएको थियो ।

यही पृष्ठभूमिमा अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका शाहले भारतीय राजदूतसँग चुच्चे नक्सा पृष्ठभूमिमा राखेर खिचाएको तस्बिरलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल–भारत सम्बन्ध, सीमा विवाद र दुई देशबीचको कूटनीतिक संवादका सन्दर्भमा उक्त तस्बिर सामाजिक सञ्जालमा बहसको विषय बन्न थालेको छ ।