काठमाडौं । इरान र अमेरिकाबीचको तनाव तथा होर्मुज जलघाँटी पुनः खुल्ने विषयमा अन्योल कायमै रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ। यसको प्रत्यक्ष असर नेपालमा पनि पर्न सक्ने जोखिम देखिएको छ।

सोमबार बिहानसम्म ब्रेन्ट कच्चा तेलको मूल्य १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य ०.७८ प्रतिशतले बढेर प्रतिब्यारेल ७८.७९ डलर पुगेको छ।

गत साता भने ब्रेन्ट र डब्ल्यूटीआई दुवैको मूल्य ७ प्रतिशतभन्दा बढी घटेको थियो। इरान र ओमानबीच सम्झौता हुने र त्यसपछि होर्मुज जलघाँटी पुनः सञ्चालनमा आउने अपेक्षाले बजारमा आपूर्ति सहज हुने विश्वास बढ्दा तेलको मूल्य घटेको थियो। तर, सम्झौताको विषयमा अन्योल बढेसँगै कच्चा तेलको मूल्य पुनः उकालो लागेको हो।

नेपालमा पनि मूल्य बढ्ने दबाब?

नेपाल पेट्रोलियम पदार्थमा ठूलो हदसम्म आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने उतारचढावको असर नेपालमा पनि पर्न सक्छ। विशेषगरी लामो समयसम्म अन्तर्राष्ट्रिय मूल्य उच्च रह्यो भने नेपालमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्यमा समेत दबाब पर्न सक्छ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारमा एक–दुई दिनको मूल्यवृद्धिले मात्रै नेपालमा तत्कालै पेट्रोलियम पदार्थको मूल्य बढिहाल्छ भन्ने हुँदैन। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त हुने खरिद मूल्य, अन्तर्राष्ट्रिय बजारको औसत मूल्य तथा अन्य लागतलाई आधार बनाएर मूल्य समायोजन गर्छ।

तर, होर्मुज जलघाँटी लामो समय अवरुद्ध भयो र विश्व बजारमा तेलको आपूर्ति प्रभावित भयो भने नेपालमा पनि पेट्रोलियम पदार्थ महँगिने जोखिम बढ्नेछ।

विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा युद्धअघि होर्मुज जलघाँटी हुँदै ओहोरदोहोर हुने गरेको थियो। त्यसैले यो महत्वपूर्ण जलमार्गमा अवरोध कायम रहे विश्व बजारमा तेलको आपूर्ति घट्ने र मूल्य अझै बढ्न सक्ने चिन्ता छ।

तेहरानले ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरे पनि अमेरिकाले केही सर्त पूरा गर्नुपर्ने अडान इरानले राखेको छ। यही कारण होर्मुज जलघाँटी तत्काल पूर्ण रूपमा खुल्ने विषयमा अझै स्पष्टता छैन।

यदि तनाव लम्बियो र होर्मुज जलघाँटीबाट तेलको आपूर्ति प्रभावित भयो भने अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने दबाब पर्न सक्नेछ।