ललितपुर — पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका ऐतिहासिक साँस्कृतिक सम्पदा श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन गरिएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार पाटनमा आयोजित कार्यक्रममा संयुक्त रूपमा दुवै सम्पदा स्थलको उद्घाटन गरेका हुन्। उनीहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत समारोहमा समेत सहभागिता जनाए।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब ५ करोड रुपैयाँको लागतमा कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण गरिएको हो। नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले परियोजना कार्यान्वयन गरेको हो।

परियोजनाको डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेज (INTACH) ले उपलब्ध गराएको थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जगदीश खरेलले स्थानीय बासिन्दाको योगदानको प्रशंसा गर्दै जीवित साँस्कृतिक सम्पदाको संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सम्पदा पुनर्स्थापनाका लागि भारत सरकारले गरेको सहयोगको समेत प्रशंसा गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरसहित नेपालका विभिन्न जिल्लाका साँस्कृतिक सम्पदा पुनर्निर्माण तथा पुनर्स्थापनामा भारत सरकारले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले परियोजनामा सहयोग गर्ने स्थानीय समुदायप्रति समेत आभार व्यक्त गरे।

भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो साँस्कृतिक सम्बन्धको चर्चा गर्दै नेपालको ऐतिहासिक सम्पदा संरक्षणमा भारतको निरन्तर सहयोग रहने बताए। पुनर्निर्मित संरचनाहरू दुई देशबीचको साझा सम्पदा र मित्रताको चिरस्थायी प्रतीकका रूपमा रहने उनको भनाइ थियो।

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका ८ जिल्लाका ३० वटा साँस्कृतिक सम्पदा संरक्षणमा सहयोग गरेको छ। त्यस्तै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, ८ जिल्लामा ८५ वटा शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ वटा स्वास्थ्य संस्था पुनर्निर्माणमा समेत भारतले सहयोग गरेको जनाएको छ।

कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप सहयोग गर्नुका साथै नेपाल–भारतबीचको विकास साझेदारी र साँस्कृतिक सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको छ।