काठमाडाैँ । गृहमन्त्री सुदन गुरुङले ‘टनेल २६’को टिमलाई शुभकामना दिएका छन् । नेपाल र भुटानका कलाकारहरूको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’को टिमलाई गृहमन्त्री गुरुङले कार्यकक्षमै भेटेर शुभकामना दिएका हुन् ।
बिहीबार भएको भेटमा गुरुङले दुई देशका कलाकारहरूको सहकार्यमा निर्माण भएको चलचित्रले छिमेकी राष्ट्रबीचको बलियो सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई जोड्ने विश्वास व्यक्त गरे । भेटका क्रममा गुरुङले आफूले फिल्मको ट्रेलर हेरेको र उक्त ट्रेलरले नेपालमा केही समयअघि गएको बाढी तथा त्यसले निम्त्याएको पीडा सम्झाएको बताएका थिए ।
भेटका क्रममा भुटानका कलाकारहरूले समेत नेपालले व्यहोरेको क्षतिका लागि आफूहरूको फिल्मले कमाएको केही हिस्सा नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । फिल्मका अभिनेतासमेत रहेका निर्माता संगय छेल्ट्रिमले उक्त फिल्मले नेपालमा गरेको कमाइको आफ्नो भागमा पर्ने रकमको ५० प्रतिशत नेपाल सरकारलाई दिने बताए ।
नेपालको व्यावसायिक घराना चौधरी ग्रुपसमेतको लगानीमा निर्माण भएको उक्त चलचित्र आउँदो असोज २३ गते नेपाल र भुटानका हलमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिसकेको छ ।
चलचित्रको ट्रेलर सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानबाट चलचित्रका कलाकार तथा निर्माण टोलीसमेत सहभागी भएका थिए ।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्तकुमार गुप्ता, भुटानी अभिनेता–निर्माता संगय छेल्ट्रिम तथा दोर्जी वाङ्चुकसहित विभिन्न निर्माताको सहकार्य छ ।
