काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले पार्टीको निष्ठा, समानुपातिक प्रतिनिधित्व र नयाँ पुस्तालाई अवसर दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले पार्टीले भौतिक पुँजी भएकालाई मात्र महत्त्व दिएको र दुर्गम तथा पिछडिएका क्षेत्रका व्यक्तिलाई अवसर दिने विषयमा समेत व्यवहारिक न्याय गर्न नसकेको टिप्पणी गरे।

‘४० वर्षमै सभापति बन्ने प्रेरणा दिएको भए म पनि कांग्रेस हुन्थेँ होला’ लामिछानेले कांग्रेसले पार्टीप्रतिको निष्ठालाई पुँजीका रूपमा मूल्यांकन गरेको भए आफू कांग्रेसमा रहन सक्ने बताए।

“यदि कांग्रेसले बेलैमा पार्टीको निष्ठालाई पुँजी मान्नेहरूलाई उनीहरूको पुँजीलाई महत्त्व दिएको भए, भौतिक पुँजी भएकाहरूलाई मात्र महत्त्व नदिएको भए, मै पनि कांग्रेस हुन्थेँ होला,” उनले भने।

कांग्रेसले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने वातावरण बनाउन नसकेको संकेत गर्दै उनले आफू ४० वर्षकै उमेरमा सभापति बन्ने प्रेरणा पाएको भए कांग्रेसमै रहन सक्ने बताए।

“आज ५० वर्षको सभापति पाउँदा गर्वको महसुस गरिरहनुभएको छ। ४० सै वर्षमा सभापति बन्ने प्रेरणा दिँदा त्यो प्रेरणा लिएको भए मै पनि कांग्रेस हुन्थेँ होला,” लामिछानेले भने।

उनले कांग्रेसले आफ्नै चुनाव चिह्न छाडेर अर्को दलको चुनाव चिह्नमा मतदान गर्न निर्देशन दिएको विषयमा समेत प्रश्न उठाए।

“कांग्रेसले आफ्नो यस्तो लहलहाउँदो रूखलाई छाडेर अर्कै पार्टीको अर्कै चुनाव चिह्नमा भोट हाल भनेर उर्दी जारी नगरेको भए मै पनि कांग्रेस हुन्थेँ होला,” उनले भने।

यद्यपि कांग्रेस र रास्वपाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै लामिछानेले मुलुकको जिम्मेवारी मिलेरै अघि बढाउनुपर्ने बताए।

https://www.facebook.com/reel/2871168573265920/