काठमाडौं। प्रेसिडेन्ट बिजनेस ग्रुपले असोज २५ देखि २९ गतेसम्म ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना गर्ने भएको छ। नेपाली मौलिक खानाको संरक्षण, प्रवर्द्धन र व्यावसायिक ब्रान्डिङ गर्ने उद्देश्यसहित काठमाडौंका सुन्धारा, महाराजगञ्ज, बत्तीसपुतली र कलंकीस्थित प्रेसिडेन्टका आउटलेटहरूमा पाँच दिनसम्म सञ्चालन हुने फेस्टिभलमार्फत नेपाली रैथाने स्वादलाई नयाँ पुस्ता, स्वदेशी तथा विदेशी पाहुनामाझ परिचित गराउने लक्ष्य राखिएको छ।

फेस्टिभललाई काठमाडौंमा मात्र सीमित नराखी रुपन्देहीको भैरहवामा आयोजना हुने फुड फेस्टिभलमार्फत समेत नेपाली मौलिक परिकार पक्कुको प्रवर्द्धन गरिने समूहले जनाएको छ। यस अभियानले नेपाली खानालाई पर्यटनसँग जोड्दै स्थानीय स्वादको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न सहयोग पुग्ने समूहको विश्वास छ।

प्रेसिडेन्ट बिजनेस ग्रुपका अनुसार पक्कु फेस्टिभल केवल खानाको उत्सव नभई पुस्तौँदेखि प्रचलनमा रहेका परम्परागत परिकारको संरक्षण, व्यावसायिकीकरण र प्रवर्द्धन गर्ने दीर्घकालीन अभियान हो।

“हामी पक्कुलाई एउटा परिकारका रूपमा मात्र होइन, नेपाली स्वाद, संस्कृति र आतिथ्यताको विशिष्ट पहिचानका रूपमा स्थापित गर्न चाहन्छौँ,” समूहका प्रतिनिधि शंकर भण्डारीले बताए। नेपाली मौलिक खानालाई आधुनिक प्रस्तुति, गुणस्तरीय सेवा र व्यावसायिक मापदण्डसँग जोड्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान बनाउन सकिने उनको भनाइ छ।

नेपाली खानाको विविधतामध्ये पक्कु परम्परागत पाककला र सामाजिक(सांस्कृतिक जीवनसँग जोडिएको परिकार हो। यस्ता मौलिक परिकारको व्यवस्थित प्रवर्द्धनले खानाको स्वादमा मात्र नभई पर्यटन, स्थानीय उत्पादन, कृषि तथा पशुपालन, आपूर्ति शृङ्खला र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउन सक्ने समूहको धारणा छ।

“स्थानीय स्वादलाई राष्ट्रिय पहिचान र राष्ट्रिय स्वादलाई विश्व बजारसम्म पुर्‍याउने दूरदृष्टिका साथ हामीले यो अभियानलाई निरन्तरता दिएका हौँ,” भण्डारीले भने।

प्रेसिडेन्ट बिजनेस ग्रुप होटल तथा रेस्टुरेन्ट व्यवसायमा दुई दशकदेखि सक्रिय रहेको समूह हो। ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ भन्ने मान्यताका साथ अघि बढिरहेको समूहले सेवा, गुणस्तर, स्वच्छता र ग्राहकको विश्वासलाई आफ्नो व्यावसायिक यात्राको आधार बनाएको जनाएको छ।

समूहअन्तर्गतका विभिन्न व्यवसाय तथा आउटलेटहरूमा हाल ३५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। आगामी दिनमा रुपन्देहीको बुटवल र काठमाडौंको बुढानीलकण्ठमा समेत नयाँ आउटलेट सञ्चालनमा ल्याउने तयारी भइरहेको भण्डारीले जानकारी दिए। नयाँ आउटलेटले गुणस्तरीय सेवा विस्तारसँगै थप रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा समूहको छ।

समूहले नेपाली मौलिक परिकारको प्रवर्द्धनलाई निजी क्षेत्रको व्यावसायिक सम्भावनासँगै सांस्कृतिक संरक्षणको जिम्मेवारीका रूपमा लिएको जनाएको छ। पक्कुजस्ता परिकारको व्यावसायिक विस्तारले स्थानीय उत्पादनको माग बढाउन, दक्ष जनशक्तिको सीप उपयोग गर्न र परम्परागत पाककलालाई आधुनिक बजारसँग जोड्न सक्ने समूहको विश्वास छ।

पक्कु फेस्टिभलका अघिल्ला संस्करणबाट प्राप्त ग्राहकको प्रतिक्रिया र नेपाली मौलिक खानाप्रतिको आकर्षणले यस वर्षको आयोजनालाई थप प्रभावकारी बनाउन प्रेरणा दिएको समूहले जनाएको छ। ग्राहक, सञ्चारकर्मी, साझेदार तथा शुभेच्छुकबाट प्राप्त साथलाई अभियानको महत्वपूर्ण ऊर्जा मान्दै समूहले आगामी दिनमा पक्कुको ब्रान्डिङ र बजार विस्तारलाई निरन्तरता दिने लक्ष्य राखेको छ।

नेपाली खानामा स्वादसँगै संस्कृति, इतिहास, सामाजिक सम्बन्ध र आतिथ्यताको पहिचान जोडिएको उल्लेख गर्दै समूहले मौलिक परिकारको संरक्षण तथा प्रवर्द्धनमा निजी क्षेत्र, पर्यटन व्यवसायी र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको जनाएको छ।

तेस्रो पक्कु फेस्टिभलमार्फत नेपाली मौलिक स्वादलाई व्यापक रूपमा चिनाउने र नेपाली खानालाई पर्यटनको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रयासलाई निरन्तरता दिने समूहको भनाइ छ।