काठमाडौँ । कञ्चनपुरका एक जना व्यक्तिले २५० पचास रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको चिट्ठा पाएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जनरल स्टोरमा सामान खरिद गरेका उनले नेपाल सरकारबाट १० लाख उपहार पाएका हुन् । साउन ७ गते सामान खरिद गरेका उनले के किनेका थिए भन्ने यकिन भएको छैन ।
त्यस्तै १३० रुपैयाँ देखि ३० हजारसम्म कारोबार गर्ने अन्य १५ जना उपभोक्ताले १ लाख ३३ हजार पाएका छन् । जसमा १६० को सामान किन्ने व्यक्तिले १ लाख ३३ हजार पाउन सफल भएका हुन् । त्यस्तै टोखा डेरीबाट २२५ को सामान किन्नेले समेत १ लाख ३३ हजार उपहार पाएका छन् ।
त्यसैसरि श्री पाथीभरा देवी ट्रेडर्समा २३० रुपैयाँको सामान किन्ने व्यक्तिले समेत १ लाख ३३ हजार उपहार पाएका छन् ।
बबल्स इन्टरटेन्मेन्ट प्रालिमा २४०, आरबी इलेक्ट्रिक एन्ड इलेकट्रोनिक सेन्टरबाट २७०, भेटघाट रेस्टुरेन्टमा ३०० को सामान खरिद गर्ने समेत १ लाख ३३ हजार उपहार पाएका छन् ।
त्यस्तै ५००, ५६० देखि अत्यधिक ३० हजारको सामान खरिद गर्नेले समेत १ लाख ३३ हजार बम्पर उपहार पाएका हुन् ।
सरकारले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा शुक्रवार सार्वजनिक गरेको हो ।
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत उपभोक्तालाई बिल लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले हरेक १५ दिनमा १५ जनालाई १÷१ लाख र एक जनालाई बम्पर पुरस्कार १० लाख दिने गरी सो कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । जसको पहिलो घोषणा शुक्रवार गरिएको हो ।
